बंगलादेशी राष्ट्रपति हमिद फेवातालमा डुंगा चडी रमाउँदै


पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राजनितीक भेटघाटपछि सुन्दर नगरी पोखरा गएका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर बिहीबार बिहानै त्यहाँ पुगेका हमिदले फेवातालमा डुंगा सयर गरेका छन् ।

पर्यटकिय क्षेत्र फेवातालमा सिंगारिएका दर्जनौं डुंगासहित उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालमा सयर गरेका हुन् । पोखराका उनले विभिन्न पुरातात्विक एवं सांस्कृतिक सम्पदाको अवलोकन पनि गरिरहेका छन् । राष्ट्रपति हमिद आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने छन् ।

राष्ट्रपति हमिदलाई स्वागत गर्न पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारी पुगेका थिए ।

बंगलादेशी राष्ट्रपति हमिदले भोली शुक्रबार बिहान ११ बजे काठमाडौंको चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट मन्त्रालयले जनाएको छ । हमिद शुक्रबार नै करिब पाँच बजे स्वदेश फर्किने छन् । राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार