
काठमाडौँ । काठमाडौबाट एक नेपाली मोडललाई भारतको बिहार लगेर बलि चढाउने उदेश्यमा संलग्न एक समुहलाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ । बिहीबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त समुहलाई सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभियुक्तलाई पक्राउगरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी र धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ रहेका छन् ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुले काठमाडौंबाट ति युवतीलाई भारतको बिहार पुर्याएर एक मन्दिरमा बलि दिने उदेश्यसहित योजना बनाइरहेका थिए । आफुसंग उक्त समुहले गरेको कुराकानीमा शंका लागेपछि युवतीले प्रहरलाई खबर गरेकी थिइन । त्यसपछि बिशेष अपरेशनमार्फत उनिहरुलाई पक्राउ गर्न प्रहरीले सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बलि दिनका लागि खोजिएकी युवतीको परिचय भने प्रहरीले गोप्य राखेको छ ।
बिहारको एक मन्दिरमा रहेका बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि यो समुहलाई सम्पर्कमा लिएको थियो । युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरी अनुसंन्धानमा खुलेको छ ।
युवतीलाई उक्त समुहले नेपाल भारत सीमामा डकुमेन्ट्री बनाउने भन्दै सुरुमा कुरा गरेका थियो । पछि कुरा हुँदे जाँदा दुइचार वटा गीतमा पनि मोडलिङ गर्नुपर्ने भन्दै मोटो रकम दिने प्रलोभन देखाएको प्रहरीले बताएको छ ।
डकुमेन्ट्री र गीतमा मोडलिङ गर्ने कुरा गरेका उनिहरुले ति युवतीसंग पछि महिनावारी भए नभएको, माछा ‘मासु खाने नखाने, जाँड रक्सी खाने नखाने लगायतका प्रश्न गरेपछि युवती एकाएक शंसकित भएर प्रहरीलाई खबर गरेकी थिइन ।
प्रहरीले सुरुमा उनको कुरा सुन्दा घटना के हुन सक्छ ? ठक्याउनै सकेनन् । युवतीको कुरामा गम्भिर छलफल गरेपछि प्रहरीले युवतीलाई बली दिनका लागि बोलाएको हुन सक्ने अनुमान गर्यो र आफ्नो अपरेशन सुरु गर्यो ।
महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरोहका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको डीएसपी होविन्द्र बोगटीले बताए ।
प्रहरीका अनुसार युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । यो घटनाको मास्टरमाइन्ड र डिजाइनर सबै पोद्दार रहेको प्रहरीको दावी छ ।
पोद्दार र भारत बिहारस्थित एक मन्दिरका बाबाबीच टेलिफोनमा पटकपटक संवाद भएको पाइएको प्रहरीले बताएको छ । बली दिनका लागि नेपालबाट युवती मगाउने ति बाबाको पहिचान भने प्रहरीले खुलाएको छैन ।











