
ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको देखिएको छ । सोमबार विहान ११ बजेतिर पूर्वसचिव कार्की घरमा नभएका बेला कामदारले कुटपिट गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।
ललितपुरको सानेपास्थित पूर्वसचिव कार्कीको आफ्नै निवासमा कामदारले कुटपिट गरेर हत्या गरेको सीसीटीभी फुटेज देखिएकाे प्रहरीले बताएकाे छ । प्रहरीले कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको छ ।
कार्कीको घरमा काम गर्ने २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कामदारले भान्सामा रहेको पिर्का प्रहार गरेर कार्कीको हत्या गरेको हुन सक्ने आशंका छ ।
प्रहरीले कार्कीको घरको भान्छा छेऊ रहेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्य हेरेको छ । सीसीटीभीमा पनि कामदारले कुटपिट गरेको दृश्य रहेको छ ।
तर, कार्की र कामदारबीच के रिसिबी थियो भन्ने बारेमा भने खुलेको छैन् । चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेको थियो ।
घटना हुँदा पूर्वसचिव कार्की भने पशुपतिनाथको दर्शन गर्न गएका थिए । फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुनालाई उपचारका लागि स्टार हस्पिटल लगेको थियो । तर, हस्पिटलले भने उनलाई मृत घोषणा गरेको थियो ।










