
काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफुहरुले थालेको जनयुद्धमा तात्कालिन राजनीतिक शक्तीको साथले जनयुद्ध सफल भएको बताए ।
जनयुद्ध दिवसका अवसरमा बिहीबार बिहान नेकपा मुख्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध सफल हुने र यति चाँडै देशमा एतिहासिक परिर्बतन आउने कसैले पनि नसोचेको बताए ।
“माओवादीले सुरु गरेको जनयुद्ध सम्भव होला भन्ने कसैले पनि सोचेका थिएनन प्रचण्डले भने, जनयुद्धले संविधान सभा जन्माउला, गणतन्त्र नेपाल स्थापना गराउला भन्ने कसैले सोचेका थिएनन, तर लाखौं नेपाली जनता र राजनीति शक्तीबीचको समझदारीले सफलता मिल्यो ।”
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच जनयुद्धको समयमा पनि बेलाखबत सम्पर्क हुने उल्लेख गरे ।
आफुहरुबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक जसो सम्पर्क हुने गरेको र सभापति कोइरालाले आफूहरुलाई ठुला ठुला फौजी आक्रमण बढाउन आग्रह गर्ने गरेको समेत प्रचण्डले खुलासा गरे ।
“ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भनेर गिरिजाबाबुले भन्नुहुन्थ्यो प्रचण्डले भने, हामीले पनि त्यसै गर्यौं र जसले गर्दा राजतन्त्र अन्त्य गर्ने वातावरण सहज बन्यो ।”
अध्यक्ष प्रचण्डले तत्कालीन एमालेका प्रभावशाली नेताहरुले आफुहरु जनयुद्धमै रहेको बेला सम्पर्क गरेर छलफल हुने गरेको समेत कार्यक्रममा बताए ।
‘तत्कालिन एमाले नेताहरु बामदेव गौतम, युवराज ज्ञवाली लगायतका नेताहरु र हामीबीच जनयुद्धमै रहेको बेला आधार इलाकामा हाम्रो छलफल हुन्थ्यो, त्यहीक्रममा भएका समझदारीकै बलमा देशमा राजतन्त्र अन्त्य भइ गणतन्त्र स्थापनामा बल पुयो’, प्रचण्डले भने ।
सही विचार र सही नेतृत्वले इतिहासमा ठूल्ठूला फड्को मार्न सक्ने प्रचण्डले दावी समेत गरे ।














