पार्टी एकतालाई देशी, विदेशी शक्तिले कम्जोर पार्न खोजे: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकलाई देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु कम्जोर पार्न निरन्तर लागिरहेको बताएका छन् । यस्तो बेलामा प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको पनि बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ , ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

प्रचण्ले सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गराएका छन् ।

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरान कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र नगरेको बरु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको प्रचण्डले उल्लेख गरेका छन् ।

कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका प्रचण्डको भनाइ छ ।

‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

त्यस्तै विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको भन्दै प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र जनसमुदायमा अपील गरेका छन् ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली तथा बेपत्ता र घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै प्रचण्डले नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।
जारी विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार