
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । पछिल्लो समय सीमाबाट भित्रिनेको संख्या पनि बढ्न थालेपछि सरकारले नाकामा कडाई गरेकाे हो ।
सरकारले सीमा नाका कडाई गरेपछि सीमाबाट भित्रिनेहरुसँग प्रहरीको विवाद बढ्न थालेको छ । बिहीबार बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा सशस्त्र प्रहरीले हवाई फायर समेत गर्नु परेको छ । भारतबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको बताइएको छ ।
करिब डेढसयको संख्यामा गाडी सहित आएका उनीहरुलाई प्रहरीले प्रवेशमा रोक गरेपछि चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यसै क्रममा सशस्त्र प्रहरीले हवाई फायर गरेर भीडलाई तितरबितर पारेको छ ।
लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् । चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको छ ।











