
काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन शीर्ष नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली, प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
दुबै अध्यक्षबीच दुईदिन भएको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर त्रिपक्षिय छलफल गर्नुपर्ने प्रस्तावअनुसार आज तिनै नेताहरुबीच छलफल भइरहेको हो ।
छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रती स्थायी समितिका बहुमत सदस्यले असन्तुष्टी राख्दै अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीलाई राजीनामा गर्न आग्रह गरिसकेका छन् । तर, ओलीले दुबै पद नछाड्ने अडान लिएपछि पार्टीभित्र विवाद चर्किएको हो ।
सहमतीका लागि स्थायी समिति बैठक पटक पटक बसेपनि निष्कर्षविहिन हुँदै आएका छन् । यसबीचमा दुबै अध्यक्षबीच पनि पटक पटक वार्ता भइसकेका छन् ।













