
झापा । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा खाल्डोमा जमेको पानीमा डुबेर ३ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भद्रपुर–२ डिगाउँका १० वर्षीय अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई छोरा अन्दाजी १२ र १४ वर्षीय करण र अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर नगरपालिका– २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो तीनै जना बालक खनिएको उक्त पोखरीमा गएका बेला डुबेका थिए । घरमा कसैलाई नभनी गएका तीन जना बालक अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार साँझ करिब ७ बजे अंकुश तामाङ शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो भने बिहीबार बिहान थामी दाजुभाइको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए ।











