
झापा । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा दुई जना मतदान अधिकृतमाथि कारबाही भएको छ। जिल्लाको कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णमाथि कारबाही गरिएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले बताए। नेपालका अनुसार कर्णलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ ।
कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका अधिकृत कर्णले हिजे एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए । सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले उम्मेदवारलाई नै वितरण गर्नु भन्दै दिएपछि उनिमाथि कारबाही गरिएको निर्वाचन अधिकृत नेपालले बताए ।
त्यस्तै जिल्लाको झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतमाथि पनि कारबाही गरिएको छ । झापा ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर मतदातास्थलमा गएक कारण उनलाई हटाइएको अधिकृत नेपालले बताए ।











