अदालतकी कर्मचारी तामाङमाथि हातपात गर्ने अधिवक्ताको लाइसेन्स खारेज हुनुपर्ने उपाध्यक्ष गुरुङको माग

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातमात गर्ने अधिवक्ता अमिर लामिछानेको लाइसेन्स खारेज हुनुपर्ने माग गरिएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रिय उपाध्यक्ष सीता गुरुङले महिला कर्मचारीमाथि कार्यकक्षमै हातपात गर्ने अधिवक्ताको लाइसेन्स खारेज गरी कडा भन्दा कारवाही हुनुपर्ने माग गरेकी हुन् ।

उपाध्यक्ष गुरुङले कार्यकक्षमा काम गरिरहेकी महिला कर्मचारीमाथि हातपात गर्नु अराजकता, गुण्डागर्दी र कानुन व्यवसायीहरुको आचारसंहिता विपरितको कार्य भएको समेत बताएकी छन् ।

‘अधिवक्ता अमिर लामिछानेले मिति २०८० असार १३ गते कार्यस्थलमा नै भौतिक रुपमा आक्रमण गरी घाईते बनाएको घट्नाप्रति घोर भर्त्सना व्यक्त गर्दछु।दिनदहाडै कार्यस्थलमा पुरुष व्यक्तिले महिला कर्मचारीमाथि हातपात गर्ने अधिवक्ता प्र.प.नं. १६६२६ बाहक अमिर लामिछानेको उक्त कार्य कानुनव्यवसायिहरुको आचारसंहिता विपरितको कार्य हो। यस्ता निकृषट कार्य गर्ने कानुन व्यवसायीको प्रमाणपत्र समेत रद्द गर्न कानुन व्यवसायि परिषद्मा र मुलुकी अपराध संहिता बमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु’, उनले भनेकी छन् ।

सुब्बा प्रेमिकाका तामाङमाथि अधिवक्ता लामिछानेले हिजो अपराह्नन् अदालतको कार्यकक्षमै मुक्का प्रहार गर्दै लछारपछार गरेका थिए । मुक्का प्रहारबाट तामाङको अगाडीका दुई वटा दाँत हल्लिनुका साथै ओठमा चोट लागेको छ । लामिछानेले लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुला पनि च्यातिएको छ । घटनापछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएर अनुसंन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार