भ्रष्टाचारविरुद्ध सरकारको अभियान रोकिदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने बताएका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने बताएका हुन् ।
सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमअनुसार्र सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर अघि बढिरहेको समेत बताए ।

भ्रष्टाचारविरुद्ध अघि बढेको सरकारले निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको उनको भनाई छ । देशमा समृद्धि र विकासको बाधक भनेकै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सरकारले अभियान नै चलाएकाले त्यो बिचमै नरोकिने उनले थप प्रष्ट पारे ।

‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई संसद र सांसदहरुले साथ र सर्मथन गरेकोभन्दै गृहमन्त्री श्रेष्ठले धन्यवाद समेत दिए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडी बढाइराखेका छौं, सुशासनको सन्दर्भमा सम्पूर्ण देशले र यो सदनका सम्पूर्ण माननीयज्यूहरुले पनि जुन प्रकारको समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसले विश्राम लिने छैन’, गृहमन्त्री श्रेष्ठले भने ।

सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा संलग्न पूर्वगृहमन्त्री, मन्त्रीहरु, सरकारका सचिवहरु लगायत उच्चपदस्थ अधिकारीहरू पक्राउ परिसकेका छन् भने सयौंको नाममा पक्राउ पुर्जि जारी भएको छ। नक्कली भुटानी र ललिता निवास प्रकरणमा भिआईपीहरु समेत पक्राउ गरेको भन्दै गृहमन्त्री श्रेष्ठको प्रशंसा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार