प्रधानमन्त्रीले भने: भारत–पाकिस्तानको हात हालाहाल भयो, हामीले नलड्न भन्यौं, युद्ध रोकियो


रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानलाई नलड्न सुझाव दिएको बताएका छन् । दुई देशबीच हात हालाहाल हुन लागेको बेला नलड्न सुझाव दिएपछि युद्ध रोकिएको बताएका छन् ।

आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।

भारत–पाकिस्तानबीच फेरि पनि आरोप प्रत्यारोपको स्थिति रहेको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताए ।

बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले भनाई थियो। प्रधानमन्त्री ओलीले हिंसा नहोस् भनेर दिएका शुद्धका शान्तिका उपदेश विश्वका लागि अहिले झनै सान्दर्भिक भएको उल्लेख गरे ।

उनले लुम्बिनीको गुरुयोजना अनुसार काम सकेसम्म छिटो पूरा गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार जना क्षमताको सभा हल आफ्नै अग्रसरतामा निर्माण भएको स्मरण समेत गरे । तर हलमा ध्वनी प्रणाली राम्रो नभएको टिप्पणी गर्दै उनले तत्काल सुधार गर्न निर्देशन पनि दिए ।

वक्ताले बोलेको कुरा हलमा उपस्थित सबैले स्पष्ट सुन्न सकिने गरी ध्वनीको बन्दोबस्त गर्न उनले निर्देशन दिए ।

हलमा कार्यत्रम हुँदा विभिन्न भाषामा उल्था गर्ने जनशक्ति र प्रविधिको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार