काठमाडौं । विश्वविख्यात वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले मन्त्री पद अस्विकार गरेका छन् । डा. रुइत पनि अन्तरिम सरकारमा जान लागेको चर्चा भएपछि उनले यस्तो बताएका हुन् । स्रोतकाअनुसार उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री सुशीला कार्कीको तयारी थियो । तर, डा. रुइतले आज सामाजिकसंजालमार्फत एक विज्ञप्ती जारी गर्दै सरकारमा नजाने प्रष्ट पारेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्, “मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो । मेरो हृदय सफा छ, म यसैमा खुसी छु ।”
डा. रुइतले जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली समेत ब्यवक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको शिर्घ स्वास्थ्यलाभको कामना गरेका छन् ।
डा. रुइतले सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा देशको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने समेत बताएका छन् । देश कठिन अवस्थामा रहेकाले सबै मिलेर सामाजिक सद्भाव, मेलमिलाप र शान्ति कायम गर्दै देश निर्माणमा लाग्नु पर्ने उनको भनाई छ ।