
काठमाडौं। भुटानी राजाले आफु नेपालमा जन्मेको खुलासा आफैले गरेका छन् । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा आफु नेपालमा जन्मेको बताएका हुन ।
भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको समेत बताए ।
“नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ, भावनात्मक सम्बन्ध छ। किनकी म नेपालमा जन्मेको हो,” राजाको भनाई उद्धृत गर्दै राजदूत आचार्यले भने। राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको समेत बताए
राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाएका थिए। आचार्यले उच्चस्तरीय भ्रमणको आदानप्रदान सहित दुबै देशका मैत्री सम्बन्धहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए।
जवाफमा भुटानका राजाले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाईसहित शुभकामना दिए। राजदूतलाई सफल कार्यकालको लागि शुभकामना समेत दिए।
राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो। उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो। साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो।












