काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा थप ५ दिन हिरासतमा बस्ने भएका छन् । यौन दूव्यवहारको आरोप लागेका महरालाई काठमाडौं जिल्ला अदालतले आइतबार थप ५ दिन हिरासतमा राख्न आदेश दिएपछि उनी फेरि पाँच दिन हिरासतमै बस्ने भएका हुन् ।
थप म्यादका लागि महरालाई आइतबार साँझ करिब ५ बजे काठमाडौं जिल्ला अदालत ल्याइएका थिए । अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको छ ।
यसअघि प्रहरीले महरालाई अनुसन्धानका लागि १३ दिन म्याद लिएको थियो । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।
प्रहरीले ७ दिनको म्याद मागे पनि अदालतले भने अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद दिएको छ ।
पछिल्लो समय पीडितले भने आफ्नो बयान फेरिरहेकी छन् । आइतबार पनि उनले प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन दिएकी छन् ।









