
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिनु पर्ने बताएका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई शनिबार आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सागमा पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई सरकारले नगद पुरस्कारका साथै नगर परिक्रमा गराएर सम्मान गरेकोमा भने खुशी व्यक्त गरे ।
नेता सिंहले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव समेत दिए ।
“बिश्वमा खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि रोजगारीको ब्यवस्था गर्ने गरेको उदाहरण छ, अब हामीले पनि यतातर्फ सोच्नु पर्छ”, काँग्रेस नेता सिंहले भने ।
कराँते महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा १३ औं सागमा पदक जितेका कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।











