कोरोना जितेका चितवनका युवा भन्छन्ः ‘युद्ध जितेको अनुभव भइरहेको छ,

  जयराज (समिप राज)


विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरससंग नेपाल लडिरहेकै छ । फलस्वरुप अहिलेसम्म यसबाट नेपालमा कुनै मानविय क्षती भएको छैन । यो एउटा सुखद खबर नै हो । झन पछिल्लो समय एकपछि अर्को संक्रमितहरु निको भएर घर फर्केका खबरहरुले अस्पतालमा उपचाररत संक्रमितहरुलाई ठुलो हौसला मिलेको छ ।

त्यस्तै चितवनका एक २७ वर्षीय युवाले पनि शनिवार कोरोना जिते । राप्ती नगरपालिका-८ का ति युवामा बैशाख ५ गते कोरोना पुष्टि भएपछि उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । लगातारका रिर्पोटहरु नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । तर, डिस्र्चाजपछि पनि उनी अस्पतालकै क्वारेन्टाइनमा बसीरहेका छन् । उनीसँगै कोरोना पुष्टि भएकी उनकी आमाको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएपछि उनी आमासँगै फर्किने भन्दै अस्पतालमै बसेका हुन । आमा छोरा चैत ३ गते बेलायतबाट नेपाल फर्केका थिए । उनै कोरोना विजेता युवासंग अनमोलपोस्टका लागि जयराज (समिप राज) ले कुराकानी गरेका छन् ।

सर्वप्रथम त कोरोना जित्नु भएकोमा तपाईलाई बधाई छ ?
धन्यवाद !

अस्पतालबाट डिस्चार्ज भएपछि तपाईलाई कस्तो अनुभव भइरहेको छ ?

हुन त अहिले विश्वभरी नै कोरोना भाइरसको महामारी छ । विश्व यससंग लडिरहेको छ । आफुले कोरोनासंगको लडाई जितेकोमा एकदमै खुसी भएको छु । मलार्ई संसारकै ठुलो युद्ध जिते जस्तो अनुभव भइरहेको छ । डाक्टरहरुले मलाई कोरोना मुक्त भयौं भन्दाको त्यो क्षणको वयान गर्ने मसंग कुनै शब्द नै छैन ।

तपाई अस्पतालमा रहँदा डाक्टर, नर्सहरुले कस्तो व्यवहार गरे, तपाईको अस्पताल बसाई समग्रमा कस्तो रह्यो ?
म अस्पतालबाट डिस्चार्ज भएपनि अहिले भरतपुर अस्पताकै क्वारेन्टाइनमा छु । मैले अस्पताल प्रशासनलाई आमा पनि निको नहुँदासम्म म यतै बस्छु भनेर भन्दा उहाँहरुले हुन्छ भनेर मलाई यतै राख्नु भएको हो । संक्रमणपछि अस्पताल भर्ना भएदेखि नै मलाई डाक्टर, नर्सहरुले बेला बेलामा आएर चेकजाँच गर्ने, स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने गर्थे ।

उहाँहरु आइसोलेनसमा नआएको बेला फोनबाटै पनि सोध्ने काम गर्नुहुन्थो । उहाँहरुले यसरी गर्नुभएको सहयोग प्रति म एकदमै आभारी छु । उहाँहरुले त्यसरी राम्रो हेरचाह गरेकै कारण म चाँडै निको पनि भए । उहाँहरुले दिने माया, हौसलाले गर्दा मलाई कोरोना संक्रमण भएको अनुभव नै हुन्थेन । म कोरोना लाग्नु भन्दा पहिले जस्तो थिए, लागेपछि पनि त्यस्तै ।

जब तपाईको कोरोना रिर्पोट पोजिटिभ आयो तब दिमागमा के कुराहरु आएका थिए ?
यस्तो महामारी फैलिएको रोग लागेपछि डर, त्रास त भइ नै हाल्छ । मलाई पनि सुरुमा निकै डर लागेको थियो । सुरुमा वडामा जाँच गर्दा रिर्पोट नेगेटिभ आयो । पछि भरपुर अस्पतालमा जाँच गर्दा पोजिटिभ आयो । यो कुरा मेरो परिवारले थाहा पाउनु भयो । सबै तिर म संक्रमित भएको हल्ला फैलियो । मलाई डर भएपनि मेरो परिवारका सदस्यले ‘तिमीलाई केही हुँदैन्, कति धेरै व्यक्तिहरु निको भएर घर जाँदैछन्, मन दह्रो पार्नुपर्छ’ भनेर सम्झाउनु भयो । मलाई हौसला दिनु भयो । त्यही हौसलाले म चाँडै निको पनि भए ।

तपाईको विचारमा उमेरले कत्तिको फरक पार्ने रहेछ यो कोरोना जित्न ?
हुन त अहिले युवा भन्दा बुढाबुढीलाई बढी संक्रमण हुन्छ भनिएको छ । तर मलाई त्यस्तो लाग्दैन् । किनभने जोसँग रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता छ उसलाई केही पनि हुँदैन् । त्यहाँ उमेरसंग मतलब हुदैन । जो पहिले देखि नै विरामी छन्, उनीहरुलाई अलि बढी समस्या हुन्छ कि जस्तो लाग्छ ।

अस्पतालले जब तपाईको रिर्पोट नेगेटिभ आयो अब डिस्जार्च गर्छौ भन्दा कस्तो भयो ?
मलाई एकदमै खुसि लागेको थियो । हुन त डाक्टरले मलाई तिम्रो केस अरुको भन्दा फरक छ भनेर पहिले नै भनेका थिए । मलाई ‘भित्र भन्दा पनि बाहिरी रुपमा फैलिएकोले अरुलाई सार्ने सम्भावना धेरै छ रे, भनेका थिए । त्यसैले पनि डिस्चार्ज भएपनि म अस्पतालमै बसेको छु । डिस्र्चाज हुने खबरले एकदमै खुसि भएको थिए । अब त्यो बेलाको अनुभव कसरी भनुँ….

विश्वलाई नै आतंकित पारीरहेको कोरोनालाई कसरी जित्न सकिदो रहेछ ?
सबै भन्दा ठुलो कुरा त आत्मबल नै हो । म अस्पतालमा भर्ना भएदेखि नै मनमा विश्वास थियो कि म चाडैं निको हुन्छु । त्यहि मेरो विश्वासले रोगलाई जितेको हो । सकारात्मक सोंच र आत्मबलले जस्तो सुकै ठुलो रोगलाई पनि जित्न सकिदो रहेछ भन्ने कुरा मैले राम्ररी बुझे । मलाई कुनै पनि औषधी दिइएको थिएन । मात्र आत्मबल, हौसलाले कोरोना जितेको हो ।

तपाई त डिस्चार्ज हुनुभयो, तपाईसँगै अस्पताल भर्ना भएकी आमाको अवस्था के छ ?

त्यस्तो नराम्रो अवस्था छैन । जस्तो पहिला हुनुहुन्थ्यो अहिले पनि त्यस्तै हुनुहुन्छ । तर, उहाँको रिपोर्ट मात्रै पोजिटिभ आइरहेको छ । आमा पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएकाले केही समस्या भएको हो कि भन्ने मलाई लागेको छ । आमालाई पनि अरु केही लक्षणहरु देखिएका छैनन् । मलाई लाग्छ उहाँले पनि छिटै कोरोना जित्नु हुनेछ ।

अन्त्यमा के भन्नु हुन्छ ?
सबै भन्दा पहिले त मेरो उपचारमा संलग्न डाक्टर र नर्सहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । उहाँहरुले गर्नु भएको सहयोगले नै म चाँडै ठिक भए । त्यसैगरी मलाई हौसला दिने मेरो परिवार र साथीहरुलाई पनि धन्यवाद भन्छु । अहिले नेपालमा पनि केसहरु बढीरहेका छन् ।

म उहाँहरुलाई ‘आत्मबल बलियो बनाउन, मनमा अनेक कुरा नखेलाउन, म छिट्टै ठिक हुन्छु, मैले धेरै काम गर्नुछ,’ भन्ने सोंच राख्नु भयो भने चाडैं ठिक हुनुहुन्छ भन्ने सन्देश दिन चाहान्छु । साथै ‘मन दह्रो पार्नु होला र डाक्टरले भनेको अनुसार व्यवहार गर्नु भयो भने तपाईहरु पनि म जस्तै चाडैं ठिक हुनु हुनेछ’, भन्न चाहन्छु । र कोरोना लागेका र निको भएका ब्यक्तिलाई नराम्रो दृष्टीले नहेरी दिनु होला पनि भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार