उपत्यकामा सवारी चलाउन भोलीदेखि ‘टाइम कार्ड’ लागू, लकडाउन कडा पारिदैं

काठमाडौं । कोरोना महामारीको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन बारे सरोकारवाला निकायबीच छलफल भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरुबीच सवारी व्यवस्थापनबारे छलफल भएको हो ।

सरोकारवालाको छलफलले भोलिदेखि काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनको लागि ‘टाइम कार्ड’ लागू गर्ने निणर्य  गरेकाे छ । छलफलमा उपत्यकामा सवारी सञ्चालनमा कडाई गर्न तोकेको समयमा मात्र सवारी चलाउन पाउने नियम बनाइएको छ ।

त्यस्तै सवारीलाई चेकजाँच गर्ने जिम्मा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दिइएको छ । छलफलमा सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको छ ।

यस्तै बैंक वित्तीय संस्थाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म र्फकनु पर्नेछ । दिउँसोको समयमा भने आवत जावत बन्द गरिएको छ ।

त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निमार्ण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

अतिआवश्यक सेवा, औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन । उपत्यकामा बाहिरबाट मान्छे भित्रिने र काेराेना संक्रमणकाे जोखिम बढ्ने भन्दै सरोकारवाला निकायले सवारी सञ्चालनमा कडाई गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार