
काठमाडौं । नेपाली समाजमा पनि एसिड प्रहारका घटना बढ्दै गएपछि यसबारे सर्वत्र चासो बढ्दै गएको छ । प्रायजसो एसिडको सिकार युवतीहरु हुने भएकाले यसको खरिद बिक्री नियन्त्रण गर्न आवाज उठिरहेका छन् ।
यसबारे देशको नीति नियम बनाउने ठाउँमा समेत कुरा उठ्न थालेको छ । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले एसिड खरिद बिक्री नियन्त्रण गर्न निर्देशन दिएको छ ।
एसिड आक्रमणको जोखिम नियन्त्रण गर्नका लागि एसिड खरिद- बिक्री कार्यलाई नियन्त्रण एवं व्यवस्थित गर्न निर्देशन दिइएको हो।
समितिको बैठकले पछिल्लो समय महिलामाथि प्रतिशोध साँध्ने हतियारको रुपमा एसिड प्रयोग हुँदै गएकाले एसिड खरिदकर्ताको विस्तृत विवरण अनिवार्य रुपमा अभिलेखिकरण गर्न तथा गराउन सरकार एवं सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
बैठकले हालसम्मका एसिड आक्रमण पीडितहरुको शारीरिक, मानसिक एवं भावनात्मक आघातलाई सम्बोधन गर्न, प्रभावकारी रुपमा औषधिउपचारको अनिवार्य व्यवस्था तत्काल मिलाउन र सुनिश्चित गर्न पनि निर्देशन दिएको छ ।

समितिको बैठकले एसिड आक्रमण पीडितलाई कानुनी सहायता तथा मनोपरामर्श प्रदान गर्न, शिक्षारउच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्न, सीपमुलक तालिम उपलब्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा यस्ता व्यक्तिको जीविकोपार्जनलाई सहज बनाउन र सामाजिक पुनर्स्थापना सम्बन्धमा तुरुन्त कार्यक्रम तयार गरी कार्यान्वयन गर्न र गराउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग एवं सम्बद्ध निकायलाई निर्देश गरेको छ ।
बैठकले एसिड प्रहार ‘जघन्य’ एवं ‘मानवताविरुद्धको अपराध’ ठहर गर्दै यस्ता घटना आवेश प्रेरित नभई योजनावद्ध, प्रतिशोधपूर्ण एवं सुनियोजित हुने प्रष्ट पारेको छ ।
नेपालमा मुस्कान खातुन र पवित्रा कार्कीमाथि भएको एसिड प्रहारका पछिल्ला दुईवटा घटनाले सबैलाई तरँगित पार्दै यसबारे गम्भिर रुपले सोच्न बाध्य पारेको छ ।











