
काठमाडौं । केहीदिन अघि सामाजिक सञ्चालमा कार्टुनमा वेवारिसे बच्चा फालिएको भिडियो निकै भाइरल भयो । कार्टुनभित्र बच्चा फालेको भिडियो हेरेपछि धेरैले बच्चाको आमालाई गाली समेत गरे ।
काठमाडौंको कपन आकाशेधारा चउरमा खेल्न गएका बच्चाहरुले वेवारिसे अवस्थामा कार्टुन भित्र बच्चा भेटाएका थिए । उक्त बच्चालाई कपनमै केयर बालगृह सञ्चालन गरिरहेकी पुष्पा अघिकारीले आफुले पाल्ने भनेर बालगृहमा ल्याएकी थिइन् ।
देश विदेशमा भएका मनकारी नेपालीले बच्चाको अवस्था देखेपछि आफ्ना मन थाम्न सकेनन् । उनीहरुले आफुले सकेको आर्थिक सहयोग गर्न थाले । पुष्पाले पनि आफूले वेवारिसे बालबच्चाको स्याहार गर्दै आएकाले यो बच्चालाई पनि आफैले स्याहार गर्ने बताएकी थिइन् ।
मिडियाको अगाडी बच्चा काखमा राखेर आसु झार्दै सहयोगको आवाह्रा गरेकी थिइन् । बच्चाको लालनपालनको लागि भन्दै देश भित्र र विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरे ।
असार १२ गतेदेखि १९ गतेसम्म पुष्पाले बच्चाको नाममा करिब ६ लाख रकम संकलन गरिसकेकी छन् । यता प्रहरीले भने बच्चाको आमा खोज्नका लागि अनुसन्धान सुरु गरिसकेको थियो । घटनाबारे सत्यतथ्य पत्ता लगाउन महानगरिय प्रहरी परिसर बौद्धले एकहप्तासम्म अनुसन्धान गर्दा घटनाले नयाँ मोड लिएको छ ।
यस्तो रहेछ घटना
जब विश्वभरी कोरोना महामारी फैलियो तब नेपाल सरकारले पनि विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई नेपाल ल्याउन सुरु गर्यो । सरकारले विदेशमा अलपत्र नागरिकलाई उद्धार गरेको टोलीमा रहेकी एक महिलाले उक्त बच्चा जन्माएकी थिइन् । खाडी मुलुकबाट नेपाल आएकी उनले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् ।
विदेशमा बलात्कृत भएका कारण उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहकी सञ्चालक पुष्पाको जिम्मा लगाएकी थिइन् । पुष्पाले आफुले पनि यो अवस्थामा बच्चालाई पाल्न नसक्ने भएकाले आफैले कार्टुनमा राखेर बच्चालाई वेवारिसे बनाइदिइन् । पछि फेरि आफैले बच्चालाई पाल्ने भन्दै बालगृहमा ल्याइन् । र प्रहरीलाई पनि वेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिइन् र सहयोग लिन थालिन् ।
त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरिन् । प्रहरीले आमाको दाबी स्वीकार गर्दै बच्चा उनलाई जिम्मा लगाएको छ ।
यसरी सुरु भयो पैसा उठाउने खेल

साउन १२ गते कार्टुन भित्र वेवारिसे बच्चा भेटिएको भिडियो पुष्पा आफैले बनाइन् र सामाजिक सञ्जालमा पोष्ट गरिन् । उनले त्यो भिडियो पोष्ट गरेको एकदिनपछि धेरै मिडियाले उनको अन्तरवार्ता लिन थाले । उनले आफूले पनि रुदै बच्चालाई सहयोग गरिदिन सबैलाई आग्रह गरिन् ।
अनि देश विदेशमा रहेका नेपालीहरुले उनलाई सहयोग गर्न थाले । कसैलाई पनि थाहा थिएन उनको यो गलत प्राचार हो भनेर । धेरैले बच्चाको मुख हेर्दै लालन पालनका लागि भनेर सहयोग गरेका थिए ।
अहिलेसम्म करिब ६ लाख रकम बालगृहको हातमा परिसकेको छ । सहयोग गर्नेहरुको कमी थिएन् । तर प्रहरीले यो बच्चा वेवारिसे होइन भनेर जब पत्ता लगायाे तब सहयोगी हातहरु पनि रोकिए । र सञ्चालक पुष्पा पनि विवादमा तानिएकी छन् । उनको समाज सेवा माथि नै प्रश्न चिन्न उठेको छ ।
कतिपयले आफुले दिएको पैसा समेत फेर्ता लिइसकेका छन् । उनले पनि आफुले पैसा फेर्ता गर्ने बताएकी छन् ।
यता प्रहरीले भने बच्चालाई प्रयोग गरेर संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । नेपालमा समाज सेवाका नाममा खोलिएका यस्ता संस्थाहरु पटक पटक विवादमा आउने गरेका छन् ।











