
काठमाडौं । कोरोना संक्रमितको संख्या देशैभरी बढ्न थालेपछि सरकारले सबै प्रदेशमा तयारी थालेको छ । कोरोना संक्रमितका लागि आवश्यक पर्ने आइसोलेन व्यवस्थापन देखि भेन्टिलेटर र आइसीयू बेड बनाउन पनि तयारी थालेको हाे ।
सरकारले सात वटै प्रदेशका २ जिल्ला अस्पताललाई ४ भेन्टिलेटर र १० आइसियू बेड बनाउन बजेट निकासा गरेको छ। हरेक प्रदेशलाई २ करोडका दरले सरकारले बजेट निकासा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सरकारले प्रदेश २ मा एमडी र एमएस पासआउट भएका २३ जना स्वास्थ्यकर्मीलाई पठाएको छ । उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पताल, गौर अस्पताल र जनकपुरमा पठाउने निर्णय भएको छ । कोरोना संक्रमितको संख्या उच्च भएपछि यसअघि नै ११ जना नारायणी अस्पताल गइसकेका छन् ।
काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढेसँगै एक साताभित्रै उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार परीक्षणको सरकारले तयारी गरेको छ । उपत्यका भित्रका सबै महानगरपालिका र नगरपालिकाहरुलाई कन्ट्याक्ट ट्रेसिङ अगाडि बढाउन पनि मन्त्रालयले आग्रह गरिसकेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा सरकारले ६ हजार आइसोलेसन बेड बनाउने तयारी गरिरहेको छ । अन्य गैर सररकारी निकायले पनि आइसोलेन बनाउने काम गरिरहेका छन् । संक्रमितको संख्या बढेपनि आइसोलेन अभाव नहुँने गरी सररकाले काम गर्ने मन्त्रालयले जनाएको छ ।









