आजबाट थपिएको उपत्यकाको निषेधाज्ञामा के गर्न पाइन्छ र के गर्न पाइदैन्, थाहा पाइराख्नुहोस्


काठमाडौं । कोरोना नियन्त्रणका लागि भदौ ३ गतेबाट जारी गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा गएराति १२ बजेबाट थप एक हप्ता थपिएको छ । उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।

तर यो पटकको निषेधाज्ञा अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको बताइएको छ ।

निषेधाज्ञामा आजबाट बिहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।

त्यस्तै यसअघि निकै विवादित बनेको र प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।

निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइनेछ । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार