
काठमाडौं । कर्फ्युका बीच ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा सम्पन्न भएको छ । शुक्रबार दिउँसो सीमित व्यक्तिहरुको उपस्थितमा केहिबेर अघि क्षमा पुजा सम्पन्न भएको हो ।
ललितपुरको अवस्थालाई मध्यनजर गर्दै विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा भइरहेको हो ।
प्रशासन र स्थानियबी भएको सहमतीअनुसार शुक्रबार सिमित समुहमा क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको अनुसार अहिले क्षमा भइरहेको हो ।
सहमती भएअनुसार अब भदौ २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्याइनेछ ।
रथ तान्ने बिषयमा बिहीबार पुल्चोकमा प्रहरी र स्थानियबीच झडप भएपछि शान्ती सुब्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्म ललितपुरमा कर्फ्यु घोषणा गरेको छ ।
निषेधाज्ञा तोड्दै बिहीबार रथ तान्न आएका युवाहरुलाई प्रहरीले रोक्न खोज्दा भएको झडपमा प्रहरी र केहि स्थानिय घाइते भएक थिए ।
झडपमा एकजना प्रहरीलाई निर्घात कुटपिट गरिएको घटनाको भने सर्वत्र विरोध भइरहेको छ । स्थानियको कुटपिटबाट डिउटीमा रहेका ति प्रहरी घाइते भई अहिले उपचारत छन् ।










