
धनुषा । सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडी सुतेर प्रदर्शन गरिएको छ । मधेस प्रदेसको जनकपुरस्थित मुख्यमन्त्री कार्यालयको अगाडी सडकमै आन्दोलनरत सुकुम्बासीहरुले जग्गा माग्दै सुतेर प्रदर्शन गरेका हुन्।
आन्दोलनकारीहरुले सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्ने, चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्नेलगाएका माग राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरिएको अभियानका संयोजक सुनिलकुमार यादवले बताए ।
सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको संयोजक यादवको भनाई छ। आफ्ना माग पुरा गराउन सुकुम्बासीहरुले रिले अनसन समेत बस्दै आएको यादवले बताए।
जिल्लाका वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई सरकारले अर्कै व्यक्तिलाई जग्गा दिने गरेको सुकुम्बासीहरुको आरोप छ।









