
धनुषा । धनुषाका दुई युवकको अपहरण गरि हत्या भएको छ । जिल्लाको जनकपुरधाम वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णु साहको अपहरण गरि भारतमा लगेर हत्या भएको हो।
उनिहरुको आज बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको चउरमा शव फेला परेको प्रहरीले जनाएको छ । दुईसाता अघि दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए। उनिहरु त्यंहीबाट अपहरणमा परेका थिए ।
दुवै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेको खुल्न आएको धनुषा प्रहरीको भनाई छ । प्रहरीकाअनुसार पीडित परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका थिए । तर, अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।
अपहरणमा परेका युवकहरुलाई मूक्त गराउन नेपाल प्रहरी र भारतीय प्रहरीले भरपुर कोषिश गरेको भएपनि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन नसक्दा बचाउन नसकिएको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए।
भारतीय प्रहरीले आज बिहान शव फेला परेकोबारे युवकका आफन्तहरुलाई बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ
। घटनामा संलग्न रहेको भन्दै धनुषा प्रहरीले २ र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको धनुषाका एसपी खड्काले जानकारी दिए । उनकाआनुसार फरार ४ जनाको खोजी कार्य भइरहेको छ ।











