काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन फायलहरु बुझाएको हो ।
जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको बताए । प्रतिवेदन अध्ययन गरेर छिट्टै मुद्धा अदालत लगिने उनले बताए ।
सीआईबीको अध्यनमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना गरिएको पाइएको छ।
जसमा सीआईबीले चार पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह तथा पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल र नारायणगोपाल मलेगोसहितलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
त्यस्तै सीआइृबीले ललिता निवास जग्गा प्रकरणमा शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङलाई जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकारका रूपमा राखेको छ ।