भारतीलाई न्यायको पहिलो ढोका खुल्यो, सर्वोच्चले भन्योः गुन्डा नाइके रिगललाई माफी दिनुको कारण पेस गर

काठमाडौँ । हत्या आरोपमा अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई माफी दिनुपर्ने कारण लिखित रुपमा पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । पीडित भारती शेर्पा मान्नधरले दर्ता गरेको रिट उपर आज सर्वोच्चमा भएको वहसपछि न्यायाधीश मनोजकुमार शर्माको इजलासले गुन्डा नाइके रिगललाई माफी दिनुको लिखित कारण सात दिनभित्र पेस गर्न आदेश गरेको हो ।

पतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधान विपरीत भन्दै पीडित भारतीले हिजो सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जसमा सुनुवाई गर्दै  सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको छ ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगीरहेका गुण्डा नाइके रिगललाई माफी दिएपछि उनि रिहा भएका थिए ।

तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगलले आफ्नो असुली धन्दामा अवरोध गरेको भन्दै २०७२ असार २८ गते भारतीका पति चेतन मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए ।

अदालतको फैसलाअनुसार गुण्डा नाइके रिगलले २० वर्ष जेलमा बस्नुपर्ने थियो तर उनि जेल बसेको ८ वर्ष पुग्नै लाग्दा माफी पाएर रिहा भएका छन् ।

आदेश हेर्नुहोस्

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार