पोखरा । कथाकार हरिचन्द्र नेपालीको प्रेम कथा “भुत्ते गाँठो” लोकापर्ण गरिएको छ । शनिवार साहित्य श्रृङ्खला पोखराको आयोजनामा प्रज्ञा प्रतिष्ठान कास्कीका अध्यक्ष पदम राज ढकाल, साहित्य श्रृङ्खला पोखराका अध्यक्ष लक्ष्मी थापाले संयुक्त रुपमा कथासंग्रह भुत्ते गाँठोको लोकापर्ण गरेका हुन् ।
नेपाली समाजमा व्याप्त जातीय विभेदमा आधारीत प्रेम कथा भुत्ते गाँठो लोकापर्ण कार्यक्रममा दर्जनौं साहित्यकार, अधिकारकर्मी, लेखक,संचारकर्मी लगायत बौद्धिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठान कास्कीका अध्यक्ष ढकालले कथाकार नेपालीले प्रवासमा रहेर पनि नेपाली साहित्यमा पुर्याएको योगदान प्रशंसनिय रहेको बताए । उनले कथाकार नेपालीले आफ्नो कृती भुत्ते गाँठोमार्फत व्याप्त जातीय विभेदविरुद्ध शसक्त कलम चलाएर समाजको महत्वपुर्ण बिषयमा सबैको ध्यान आक्रषित गरेको समेत बताए ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले भुत्ते गाँठो पुस्तक नेपाली समाजको ऐना भएकाले सबैले पढ्नु पर्ने बताए ।
प्रेमलाई इश्वरको उपहार मानिने भए पनि नेपाली समाजमा अझै व्याप्त जातीय विभेदका कारण अन्तरजातीय प्रेमको हत्या हुँदै आएको कथाकार नेपालीले बताए । दुई युवा, युवतीबीचको प्रेम जातकै कारण असफल पारिएको कथा भुत्ते गाँठोमा पढ्न पाइने कथाकार नेपालीले बताए ।
कास्कीको पोखरा १८,सराङ्गकोटमा जन्मिएका कथाकार नेपाली हाल बेलायतमा बस्दै आएका छन् ।
प्रवासमा रहेर पनि कथाकार नेपालीले नेपाली साहित्य र उत्पीडित समुदायको उत्थानका लागि योगदान पुर्याउदै आएका छन् । उनले बेलायतमा पनि प्रवासी सर्जकहरुलाई जमघट गरेर विभिन्न लेख, रचनामार्फत नेपाली साहित्यको जर्गेना र प्रचार प्रसार गर्दै समाज परिर्बतनमा सहयोग पुर्याउँदै आएका छन् ।
नेपाल वाहिर रहे पनि आफ्ना सन्तानहरुलाई नेपाली भाषा, साहित्य र समाजबारे बुझाउनु पर्ने कथाकार नेपालीको भनाई छ । कथाकार नेपालीले भुत्ते गाँठोपछि आफ्नो दोस्रो कृती पनि पाठकमाझ ल्याउने तयारी रहेको जानकारी पनि दिए ।