काठमाडौं । हालै सत्ताबाट प्रतिपक्षमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक युवा नेताले महत्वपुर्ण सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता बिबि खरालले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई माओवादी धारका शक्ति र समुहहरुलाई एकताबद्ध गरेर जनतामा जान महत्वपुर्ण सुझाव दिएका हुन् ।
अनमोलपोस्टसंगको संवादमा युवा नेता खरालले सरकार हाँक्न आफुसंग बहुमत नभए पनि गठबन्धन सरकारमा रहेर प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध गरेको कामलाई जनताले मन पराएको समेत बताएका छन् ।
उनले भ्रष्टाचारविरुद्ध कारवाही गर्न माओवादी थप बलियो हुनु पर्ने भएकाले अध्यक्ष प्रचण्डले माओवादी धारका विप्लव, बैद्य, बाबुराम, आहुती लगायतसंग पार्टी एकता गर्दै जनतामा जानु पर्नेमा जोड दिए । सरकारमा रहँदा पार्टीको ढुलमुले नीतिका कारण नै माओवादी सत्ताबाट बाहिरिन पुगेको र काँग्रेस र एमालेलाई मिल्न बाध्य पारेको उनको विश्लेषण छ ।
युवा नेता खरालले यस पटक सरकारमा रहेर माओवादीले गरेको कामलाई जनताले साथ सर्मथन गरेकाले फेरि भ्रष्टहरुविरुद्ध कारवाही गर्न माओवादी शक्तिशाली हुनुपर्ने उनको भनाई छ ।
काँग्रेस र एमाले मिलेर बनेको सरकारले माओवादी जनयुद्धबाट प्राप्त जनताका अधिकार खोस्ने षड्यन्त्र गरिरहेकाले पनि माओवादी धारका शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए।
नेता खरालले अध्यक्ष प्रचण्डलाई माओवादी घटकहरुलाई एकतामा ल्याउँदै पार्टी विशेष महाधिवेशन गर्न पनि सुझाव दिएका छन् ।
उनले पार्टीको नेतृत्व हाँक्न सक्ने नयां पुस्ता पनि तयार गर्नतर्फ अध्यक्ष प्रचण्डले ध्यान दिनुपर्ने बताए ।
नेता खरालले पार्टी महाधिवेशनबाट रुपान्तरणसहित भ्रष्टाचारविरुद्ध शसक्त आन्दोलनका कार्यक्रम गर्दै जनता माझ जानुपर्ने बताएका छन्।
उनले अध्यक्ष प्रचण्डलाई संसद र सडकबाट भ्रष्टाचारविरुद्ध अब शसक्त आवाज उठाउन पनि सुझाव दिएका छन् ।
नयां बनेको सरकारले भ्रष्टहरुलाई जोगाउने र थप भ्रष्टाचार गर्ने भएकाले यसबारे जनतालाई जगाउनु पर्ने उनको भनाई छ ।
प्रचण्डका लागि माओवादी धारलाई एकतावद्ध गर्दै अन्य वामपन्थी शक्तिहरुलाई पनि समेट्दै देशलाई समाजवादतर्फको बाटोमा अघि बढाउने मौका पनि आएको नेता खरालको भनाई छ ।