अर्घाखाँची। बुधबार बिहान अर्घाखाँचीमा कार र ट्रक एक आपसमा ठोकिदा नेकपाका चार नेता घाइते भएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडां नं ८ देउराली भन्ने स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन्। घाइते मध्ये दुई जना बुढाथोकी र शर्मालाई थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको बताइएको छ ।
शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले बताएको छ। तर घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका नेताको गाडी मन्त्रीको भन्दा पछाडी थियो ।
नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।