बुटवल । भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकरको नाममा नेपालमा एक सामाजिक संस्थाको स्थापना गरिएको छ ।अम्बेडकरको विचार, विकासवादी दृष्टिकोण र दलित समुदायको उत्थानका बिषयमा बहस, छलफल गर्ने उदेश्यले अम्बेडकर सोसियल फाउण्डेशन, नेपाल नामक संस्था स्थापना गरिएको हो ।
आइतबार बुटवलमा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा संस्थाको घोषणा गरिएको छ।
मन्त्री बरालले संस्थाले अम्बेडकरको बिचार र सिद्धान्तलाई अंगाल्दै उनको उचाइ कायम राख्ने गरी काम गर्न सुझाव दिएका थिए । मन्त्री बरालले प्रदेश ५ लाई जातीय छूवाछुत मुक्त प्रदेश घोषणा गर्ने नीति लिएको समेत जानकारी दिए ।
“हामीले वडातहबाटै छूवाछुतमुक्त गर्ने र प्रदेशलाई नै छूवाछुत मुक्त बनाउने गरी कार्यक्रम बनाएका छौं उनले भने, जातीय विभेद र छूवाछुतका सवालमा प्रदेश सरकार गम्भिर छ ।”
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष विनोद पहाडीले सस्था स्थापनाको उदेश्यको बारे बताउदै गौतम बुद्धको दर्शन र नेपालमा दलित समस्यालाईसंगै जोडेर सस्थाका गतिविधी संचालन गर्ने बताए ।
पुर्ब सभासद, दलित अगुवा समेत रहेका अध्यक्ष पहाडीले बुद्धको जन्मस्थल लुम्बिनी र बौद्धमार्गी बिचारको सबैतीर प्रचार प्रसार गर्ने समेत संस्थाको उदेश्य रहेको प्रष्ट पारे ।