
चितवन । दश दिन हिरासतमा बसेर रिहा भएका संचारकर्मी रवि लामिछानेलाई अब विदेश जान पनि अदालतको स्विकृती लिनुपर्नेछ ।
जिल्ला अदालत चितवनले उनको नाममा सोमबार दिएको रिहाइ आदेशमा उक्त कुरा समावेश गरिएको छ ।
अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले उनलाइ रिहाइ गर्न ५ लाख धरौटी माग गरेका थिए । उक्त धरौटी दिएसंगै उनि प्रहरीको हिरासतबाट बाहिर आएका छन् ।
उनिसंगै उनका सहकर्मी युवराज कँडेल पनि ३ लाख धरौटी दिएर रिहा भएका छन् । घटनाकी अर्की आरोपित नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।
रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममा पत्रकार पुडासैनीको मृत्यु प्रकरणबारे बहस गर्न नपाइने आदेश समेत दिइएको अदालतका सेरेस्तेदार रूद्रमणी गिरीले जानकारी दिए ।
शालिकरामबाट प्रहरीले प्राप्त गरेको भिडियो र पीडितबाट दिइएको किटानी जाहेरीका आधारमा उनिहरुलाई पक्राउगरी प्रहरीले मुद्धा दायर गरेको थियो ।









