
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको रिपोर्टिङ सकेर म शनिबार बेलुका नेपालगंज आइपुगेकी थिए । बैतडी, दार्चुला र डडेल्धुरा लगायतका रमणयि गाँउपाखाको शितलता नेपालगंज पुग्दा भंग भइसकेको थियो ।
नेपालगंजको प्रचण्ड गर्मी बेलुकी हुँदा केहि कम त हुँदै थियो तर, नेपालजंग एयरर्पोटमा भने एकाएक गरम भइदियो ।
साँझको फ्लाइटमा नेपालगंजबाट काठमाडौं जाने यात्रुहरु समयमै एअरपोर्ट पुगिसकेका थिए । म पनि समयमै एअरपोर्ट पुगिसकेकी थिए । टिकटमा फ्लाइट टाइम ६ः१५ लेखिएको थियो, मलाई कुनै हतार थिएन । कुलमान घिसिङको कृपाले राती आकासबाट झिलीमिली देखिने काठमाडौं शहर हेर्नुको मजा बेग्लै हुन्छ ।
प्लेन यात्रु लैजानका लागि समयमै आइपुगेकाले सबै यात्रु प्लेन डिले नभइ तोकिएकै समयमा उड्ने निस्फिक्रीमा थिए । आफु फर्किदै गरेको खबर मैले आफु कार्यरत संस्था उज्यालोमा गरिसकेकी थिए ।
नेपालगंज एअरपोर्टमा यात्रुहरु आफ्नो गन्तव्य जान तयार थिए । मैले पनि आफ्नो ब्याग चेक गर्दै टिकट समातेर ६ बजेर ५ मिनेटमा बोर्डिङ पास भए । यात्रु प्रतिक्षाकक्षमा केही बेर बसे । एकैछिनमा बुद्धएअरको प्लेन ल्याण्ड गर्यो र यति एरलाइन्सको प्लेन काठमाडौंका लागि उठ्यो ।
त्यसपछि ६ बजेर १० मिनेटमा यात्रुहरुलाई जहाज भित्र बस्न लगाइयो र ६ बजेर १५ मिनेटसम्म सबै यात्रु प्लेनमा बसीसकेका थिए । प्लेनकी परिचारिकाले यात्रुलाई सिटको पेटी राम्रोसँग बाँध्न र यात्रुले पालना गर्नुपर्ने नियमबारे पनि जानकारी गराइ सकेकी थिइन । त्यसपछि चक्लेट पनि बाँडियो मैले चकलेट समाते ।
मलाई प्लेनमा दिइने चकलेट खुब मन पर्छ । यात्राको बिच्च बिच्चमा चकलेट चपाउँदै विमानका झ्यालबाट बाहिर हेर्न खुब आन्नद आउँछ ।
परिचारिकाले आफुले गर्नुपर्ने सबै काम सकाइसक्दा ६ बजेर ३० मिनेट गइसक्यो । प्लेन भने उडेन । नेपालगंजबाट काठमाडौंका लागि अन्तिम फ्लाइट भएकाले सबैलाई हतार थियो जान । काठमाडौंमा ल्याण्ड भइसकेपछि आफु बसिरहेको ठाउँसम्म पुग्न ढिला हुन्छ भनेर धेरैको चिन्ता प्रकट हुन थालिसकेको थियो ।
जहाज किन उडेन भनेर यात्रुहरुले प्रश्न गर्न थालेपछि परिचारिकाले पर्यटनमन्त्री ज्यू धनगढीबाट आइरहेकाले उहाँको प्रतिक्षा गरिरहेको जवाफ दिइन ।
हँगामा यहिँबाट सुरु भयो
परिचारिकाको मन्त्रीलाई पर्खेको जवाफ सुन्ना साथ एक्कासी बम पड्के सरी प्लेनभित्रबाट आवाज आयो, “के तरिका हो ? को हो त्यो मन्त्री ? यसरि दुख दिन पाइन्छ ? म पाइलटसंग कुरा गर्छु ।”
यसरि पड्किने अरु कोहि नभएर बोल्नमा भाइरल भएका एक युवा जो आफुलाई भ्रष्टाचार बिरुद्धको अभियान्ता भन्दै देशका शिर्ष नेता र राज्य व्यवस्थालाई सत्तो सरापेर नथाक्ने उनै ज्ञानेन्द्र शाही रहेछन् ।
उनका चर्का चर्का भाषण युटुबतिर सुनेको भएर आवाज चिन्न गाह्रो भएन मलाई । त्यसपछि मैले उनि लगायत उनको साथका रहेका दुई तीनजनाको भिडियो खिच्न थाले । केहि भयो की अडियो र भिडियो लिइहाल्ने हामी संचारकर्मीको पेशै यस्तो !
जब मन्त्रीका कारण प्लेन उड्नमा ढिला भएको थाहा पाएपछि त्यहाँको माहोल नै बेग्लै भयो । चर्का चर्का आवाज अनि गालीसंगै अपशब्दका फोहरा !
प्लेनभित्र नै होहल्ला गर्न थालेपछि परिचारिकाहरु डराएको जस्तो देखिन्थिन । उनलाई पाइलट कहाँ गए, भन्दै जोरले सोधिरहेका थिए ज्ञानेन्द्र शाही ।
जहाजभित्रै होहल्ला भएपछि डर र भयको मुद्रामा परिचारिकाले हल्ला नगर्न आग्रह गरिन् र ज्ञानेन्द्र शाही जोस्सिदै, “म तपाईको पाइलटसँग कुरा गर्छु,” भन्दै बाहिर निस्के ।
उनीबाहिर निष्केपछि उनका समर्थक र अन्य केहीव्यक्तिहरु पनि बाध्य भएर जहाजबाट बाहिर निष्किए र केहीबेरपछि म पनि बाहिर आए ।
तर, मसँगै मेरो सिटमा बसेका एक जना पुरुष र छेउमै बच्चा बोकेकी महिला लगाएत प्लेनका आधि भन्दा बढी यात्रु मोवाइल चलाएर बसिरहेका थिए ।
करिब १५ मिनेट जति विमानका कर्मचारीहरुसँग उनिहरुले बाहिर आएर चर्को चर्को स्वरमा जहाज डाउनुपर्छ भन्दै नाराबाजीसहित विवाद गरे ।
विमानस्थलका कर्मचारीहरुले मन्त्रीका कारण उडान ढिलो भइरहेको जवाफ दिदां पनि उनिहरु चुप लागेनन् । किनकी विवाद र भाइरल हुनुका लागि यो बिषय जो गज्जबको थियो ।
उनिहरु तम्सिएर कहिले विमान कर्मचारीहरुलाई थर्काउथें भने कहिले आफै बोलेको भिडियो मोवाइलको टर्च बालेर खिच्थे । यो रमिताको दर्शक अलि परबाट म भइरहेकी थिए । मन्त्रीका कारण उडान ढिला भएकोमा मेरा पनि धेरै प्रश्नहरु मन्त्रीप्रती जुर्मुराएका पक्कै थिए । तर, त्यहाँ एयरपोर्टभित्र उर्फिएर हुनेवाला केहि थिएन ।
ए बाबा ! ‘मन्त्रीले यतै बसेर बिहानको फ्लाइटमा काठमाडौं फर्के पनि त हुनथ्यो नि, किन बेकारमा जनतालाई दुख ? यस्तै कुराहरु मनमा पक्कै थिए मेरा ।
समय ढल्किदै थियो, ज्ञानेन्द्रहरुको आक्रोष खपिसक्नु थिएन । ज्ञानेन्द्रले त प्लेन रोक्न आदेश दिनेलाई, ‘…त्यसका बाउको प्लेन हो ?’ भन्नसम्म भ्याए । अनि उनको साथमा रहेका दुई चारजना थपडी बजाउदै चिल्दाउँदै थिए । म उनिहरुको भिडियो खिच्दै थिए ।
अन्य यात्रुहरु खासै आक्रोषित थिएनन् । लाग्छ, उनिहरुसंग प्लेन डिलेको थुर्पै अनुभव थियो नेपालको । तर, यो डिले मौसम या प्रावधिक नभइ मन्त्रीका कारण थियो । तर, डिले त डिले नै थियो ।
बाहिर अध्यारो नै थियो । ज्ञानेन्द्र शाही लगायत केहि ब्यक्ती चर्को स्वरमा ‘उ हेलिकप्टरमा आउँछ, जहाज उठाउनुस’ भन्दै कड्किदै थिए ।
एकजना विमान कर्मचारीलाई थर्काउदै ‘म पत्रकार हो, म्यामराको अगाडी भन्नुस’ भन्दै थिए । उनै पत्रकार हुँ भन्ने ब्यक्तीले ज्ञानेन्द्र शाहीले थर्काउँदै गरेको भिडियो मोवाइल बालेर खिचिरहेका थिए ।
त्यसपछि ६ बजेर ५७ मिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्राई निकै हतास मुद्रामा प्लेन छेउ पुगे ।
मन्त्रीको साथमा रहेका ब्यक्तीले ढिला भएकोमा हात जोड्दै सरी भन्दै थिए । तर, ज्ञानेन्द्र शाही लगायत उक्त झुण्डले मन्त्री भट्टराई प्लनेको भर्याङमा चढ्दै गर्दा पछाडीबाट धकेल्नेगरी ‘एक / एक घण्टा प्लेन रोक्ने ? यतिबेला सम्म कहाँ हुनुहुनथ्यो ?’ भन्दै झम्टिन नै गइरहेका थिए । म भने पछिबाट भिडियो खिच्दै थिए ।
त्यहि भिडमा अघि जो आफुलाई पत्रकार हुँ भन्ने मान्छे, मन्त्री भट्टराईलाई निकै चर्को श्वरमा “हु यार यु ? यतिबेलासम्म कहाँ हुनुहुन्थ्यो ?” भन्दै प्रश्नमाथी प्रश्न तेस्राइरहेका थिए ।
तर, मन्त्रीले भने एक शब्द पनि फर्काएनन् । लज्जिल अनुहार बनाउँदै टाउको निहुँराएर जाँदै प्लेनको सिटमा बसे । बुद्ध एअरका कर्मचारी लगायत परिचारीकाहरुले सबै यात्रुसंग ढिला भएकोमा क्षमा मागे ।
तीन चार जना बाहेक कुनै यात्रुले पनि मन्त्रीसंग र विमान कर्मचारीसंग अभद्र ब्यवहार र चर्को श्वरमा बोलेनन् । मलाई लाग्छ त्यो फ्लाइटमा प्राय अन्य सबै यात्रु भद्र थिए । उनिहरुलाई थाहा हुनुपर्छ, यसरि प्लेन भित्र हुलहुज्जत, होहल्ला, चर्को स्वर गर्नु फ्लाइटको नियम विपरीत हो भनेर । तर, ज्ञानेन्द्रहरुलाई त्यसको प्रवाह थिएन ।
उनिहरुको हर्कत देख्दा लाग्दैथ्यो, गाँउमा कुनै विवाहको गाडीमा छु र, गाडीवालाले जन्तीका जड्याँहाहरुको भनेको मानिरहेको छैन । आफुले भनेको ठाँउमा दारु खान रोकिरहेको छैन ।
ज्ञानेन्द्र शाही र उनको झुण्डले त्यति गरेर पनि पुगेको थिएन । उनिहरु मन्त्री बसेको छेउमै आएर फेरी थर्काउँदै थिए । ज्ञानेन्दले मन्त्रीलाई प्रश्न गर्दै थिए, “मन्त्री ज्यू, यतिबेलासम्म कहाँ हुनुहुनथ्यो ? एक एक घण्टासम्म प्लेन रोकाउने ? कहाँ मोजमस्ती गर्दै हुनुहुनथ्यो ? लाज लाग्दैन ?”
ज्ञानेन्द्रले कहाँ मोजमस्ती गर्न जानुभाथ्यो ? भन्दै गर्दा मन्त्री त्यो दिन कैलालीको टिकापुरमा आयोजित डल्फिन महोत्सवको उद्घाटन लगायत सुदूरपश्चिम प्रदेश सरकारसंगको महत्वपुर्ण छलफल सकेर टिकापुरबाट उनि फर्किदै थिए ।
उनिहरुको प्रश्न र आक्रोषका बीच मन्त्री निरिह हुँदै लज्जित मुद्रामा मुस्कुराई रहेका थिए र हातले पिलिज बस्नुस भन्दै थिए । उनको साथमा रहेका ब्यक्ती पनि ढिला भयो सरी भन्दैथिए ।
विमानभित्र बसिसकेपछि पनि ज्ञानेन्द्रले ५ मिनेटसम्म बोल्न छोडेनन् । त्यसपछि ६ बजेर ७ मिनेटमा बुद्धको प्लेन नेपालगंजबाट काठमाडौंका लागि उठ्यो ।
प्लेनले जमिन छोडिसक्दा पनि हल्ला कम भएको थिएन । त्यसरि चर्को श्वरमा बोल्ने प्लेनभित्र बोल्ने कार्य उडान नियम विपरित थियो ।
जे होस त्यसपछि प्लेन सकुशल त्रिवि अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भयो । मन्त्री आफ्नो गाडी चडेर क्वाटरतर्फ हिँडे यात्रुहरु आ– आफ्नो घरतर्फ ।
कामको सिलशिलामा यस्तै प्लेनको यात्रा भइरहन्छ तर यसपटक भने यात्रा एतिहासिक र पुर्णरुपमा भयपुर्ण बन्यो । प्लेनभित्र पनि होहल्ला गरेका कारण त्यसबेला पाइलटको मानसिकता कस्तो भइरहेको थियो होला, म सोच्दै थिए प्लेनभित्र । उडानका नियम अनुसार पाइलट पुर्णरुपमा तनावपुर्ण र स्वस्थ हुनु पर्ने हुन्छ ।
तर प्लेन उठ्नु र उडिसकेपछि भएका कृयाकलाप पक्कै एउटा उडानका लागि सहज थिएनन ।
शनिवारको त्यो “नेपालगंज प्लेन डिले” घटनाले यसरि चर्चा पाउला भन्ने मलाई लागेको थिएन । तर यस घटनाबाट मन्त्रीको राजिनामा माग्ने सम्मको कुरा सुनिएपछि मैले पोहर साल त्रिवि अन्र्तराष्ट्रिय विमानस्थलमा यति एअरलाइन्सले आफ्ना लागि ५ मिनेट कुरेको सम्झे । कारण थियो कोटेश्वरको जाम ।
नेपालगंज एअरपोर्टमा शनिवार जे देखे, जे अनुवभ गरे उक्त कुरा मैले यहाँ उल्लेख गरे । एउटा कुरा प्रष्ट केछ भने, प्रर्यटनमन्त्री भट्टराईले प्लेन आफ्नो लागि त्यतिबेरसम्म कुराउनु गलत थियो नै । कारण जे सुकै भएपनि सर्वसारधाणका लागि त्यसले महत्व राख्दैन । सबैका आ–आफ्नै बाध्यता र समस्याहरु हुन्छन् ।
अर्को कुरा, सार्वजनिक ठाँउमा त्यसमा पनि एअरपोर्ट जस्तो ठाँउमा जहाँ स्वदेशी देखि विदेशीहरु हुन्छन् त्यहाँ एउटा वहालवाला मन्त्रीसंग त्यसरी प्रस्तुत हुनु, अपशव्द प्रयोग गर्नु, प्लेन भित्र नै होहल्ला गर्नु एउटा सचेत ब्यक्तीका लागि शोभनिय कुरा हुँदै होइन ।
मन्त्रीले प्लेन कुराएको बिषयमा दर्जनौं प्रश्नहरु र गुनासाहरु अन्य यात्रुसंग पनि थिए, मसंग पनि थिए । त्यसमा झन प्रश्न गर्ने हामी संचारकर्मीको कामै हो ।
पछिल्ला केहि घटनाक्रम र सामाजिक संजालको गलत प्रयोग हेर्दा लाग्छ, नेपालमा लोकतन्त्र र वाक स्वतन्त्रता अलि बढि नै भयो । नैतिकता, इज्जत, सम्मान र कतव्र्यको मुल्य यति किन सस्तो भयो होला ?
(नेपालगंज एअरपोर्टमा भएको घटनाका दृष्यहरु यहाँ हेर्न सकिनेछ ।)











