
काठमाडौं । बजारमा आफू ठगिएको महसुस भए अब मोबाइल एप्समार्फत नै उजुरी गर्न सकिने भएको छ ।
वाणिज्य विभागले उक्त एप्स सञ्चालनमा ल्याएको हो ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री मातृकाप्रसाद यादवले उक्त मोबाइल एप्सको शुभारम्भ गरेका छन्।
हाल प्लेस्टोरमा मात्रै उपलब्ध एप्सको नाम ‘उपभोक्ता गुनासो एप्स’ राखिएको छ । उपभोक्ताले मोबाइलमा एप्स डाउनलोड गरेर आफूले बजारमा भोगेका समस्याहरु उजुरीका रुपमा पठाउन सक्नेछन् ।
एप्सको उद्घाटन गर्दै मन्त्री यादवले उपभोक्ताको हक–अधिकार संरक्षण गर्न र विभागमार्फत जनताको कामलाई बाध्यकारी बनाउन एप्स महत्वपूर्ण भएको बताए ।









