काठमाडौं । यातायात व्यावस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारीलाई सार्वजनिक रुपमा प्रयोग नगर्न आग्रह गरेको छ । विभागले बुधबार एक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।
सरकारको आदेशलाई पालना नगरी कानुको उल्लंघन गर्ने सवारीलाई कारबाही गरिने बताइएको छ । कानुनी रुपमा कतै पनि निजी सवारी सार्वजनिक रुपमा प्रयोग गर्न पाइने व्यवस्था नभएकाले विभागले यस्तो सूचना जारी गरेको हो । सरकारले निजी सवारीले भाडामा यात्रु बोकेको पाइएमा प्रचलित कानुन कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
विशेषगरी यो सूचना विभागले पछिल्लो समय टुटल र पठाओका काममा निकै चर्चामा रहेका सवारीका लागि जारी गरिएको हो । यो सूचना कार्यन्वयन भएमा निजी सवारीले भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् ।
विभागले यसअघि पनि यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि पुनः यो विषय साम्य भएको थियो ।
बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ । सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ ९१० मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।
विभागको सूचना

व्यवसायीको समर्थन
व्यवसायीहरुले लामो समयदेखि सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रय महासंघका महासचिव सरोज सिटौला निजी सवारीको सार्वजनिक प्रयोगले सरकार र कानुनमाथि चुनौती दिएको बताउँछन् ।
यसलाई विकृति भन्दै उनले यसलाई रोक्न राज्यका जिम्मेवार संयन्त्रहरु भूमिका खेल्न ढिला भइसकेको बताए । ‘प्रविधिको प्रयोग भनेर मात्रै हुँदैन, कानुनले नदिएको काम गर्न पाइँदैन,’ सिटौला भन्छन्, ‘यस्तो व्यवसायलाई छुट दिइयो भने भोलि जसले जे पनि गर्न सक्छ । यसमा राज्यले आफ्नो भूमिका देखाउनैपर्छ ।’
निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने उनको दाबी छ ।
अन्तर्राष्ट्रिय प्रयोग भन्दै नेपाल भित्र्याइएका प्रविधि नेपालका लागि उपयोगी छ छैन भनेर पनि हेर्नुपर्ने उनले बताए । उनले सार्वजनिक यातायात सेवामा कमी कमजोरी रहेको स्वीकार्दै समायानुकुल परिवर्तन गर्न आफूहरु तयार रहेको बताए ।










