
काठमाडौं । महिनावारी स्वच्छता व्यवस्थापनसँग जोडिएका समाचारलाई सञ्चार माध्यमले दिएको प्राथमिकताका बारेमा गरिएको अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा १ वर्षको अवधिमा विभिन्न सञ्चार माध्यमले यो विषयमा लेखेका लेख, रचना, समाचार र फिचरलाई अनुगमन गरिएको छ ।
वाटर एडको सहयोगमा मित्र समाजले गरेको अनुगमनमा मुलधारका मिडियाले महिनावारीको विषयसँग सम्बन्धित समाचार थोरै मात्रै समावेश गरेको पाइएको छ । पत्रिका, अनलाईन र खबरपत्रिका गरी १८ वटा सञ्चार माध्यमहरु यो अनुगमनमा समावेश गरिएका छन् ।
प्रतिशतको रुपमा हेर्दा पनि अन्य समाचारको तुलनामा महिनावारी सम्बन्धी समाचार थोरै मात्रै छापिएका छन् । १ वर्षको अन्तरालमा १८ वटा सञ्चार माध्यममा जम्मा ४१० वटा मात्रै समाचार छापिएका छन् ।

मित्र समाजले छाउपडी, स्वास्थ्य, शिक्षा, नीति निमार्ण तथा संशोधन, स्वच्छता प्रवर्धन, सुरक्षित शौचालय लगाए १७ वटा शिर्षकमा विभाजन गरेर अनुगमन गरिएको मित्र समाजका (पब्लिक हेल्थ एक्पोट) जयश्री राइले जानकारी गराएकी छन् ।
महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुख्य मुद्धाको बारेमा ज्ञान र बुझाईलाई बढाएर यसलाई क्षेत्रगत नीति तथा योजनाहरुमा समावेश गराउनका लागि गरिने बहस पैरवीलाई सहयोग गर्न प्रमाण जुटाउने यो अनुगमनको मुख्य उदेश्य रहेको थियो ।
मुलधारका सञ्चार माध्यमले महिनवारीसँग सम्बन्धीत समाचारलाई मुख्य मुद्धाको रुपमा उठाउन नसकेको आयोजकले निष्कर्ष निकालेको छ । घटनासँग सम्बन्धित भन्दा पनि खाेज र अनुसन्धानमुलक लेख र रचना बाहिर ल्याउन सञ्चार माध्यमलाई आग्रह समेत आयोजकले गरेका छन् ।










