काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा अधिकृत पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको हो ।
आयोगले प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा विज्ञापन गरेको छ । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । आयोगले ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।
आयोगले यो वर्ष सबैभन्दा बढी सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित गरेको छ । उक्त सेवामा खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।
यसैगरी राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ ।
व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ । परराष्ट्र सेवामा भने ४ जना अधिकृतको माग छ ।

गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष उल्लेख्य संख्यामा विज्ञापन भएको हो ।
आवेदन दिने म्याद आन्तरिक बढुवाका लागि पुस २९ गते र खुल्ला तथा समावेसी पदका लागि पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ ।
आवेदन हेर्नका लागि यो लिंक हेर्नुहोला ।
http://www.psc.gov.np











