
मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलले बास्कोटा कमिसनकाण्डको छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसनको मागेको सार्वजनिक अडियोका बिषयमा सरकारले छानबिन गर्ने बताए ।
मकवानपुरको हेटौडामा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आइतबार त्यहाँ पुगेका गृहमन्त्री बादलले भने, “कमिसनबारेको अडियो सार्बजनिक भएपछि बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ, उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।”
बास्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्बजनिक भए लगत्तै उनले बिहीबार राजीनामा दिएका थिए । बास्कोटाको कमिसनकाण्ड बाहिर आएपछि सत्तारुढ नेकपाभित्र यसले ठुलो हलचल ल्याएको छ । कतिपय नेताहरुले बास्कोटामाथि पार्टीले पनि छानबिन गर्नुपर्ने बताइरहेका छन् । प्रमुख सचेतक देब गुरुङले बास्कोटा उपर अख्तियारले छानबिन गर्दा अझै सहज हुने हिजै बताएका थिए ।
काँग्रेसका नेता शेखर कोइरालाले पनि बास्कोटाले राजीनामा दिएर मात्रै उम्किन नपाउने भन्दै कारवाहीको माग गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने बताका छन् ।
सुरक्षा गोष्ठीमा वाग्मती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीलगायतको सहभागी रहेको छ । गोष्ठीले समग्र प्रदेशको सुरक्षा ब्यवस्था लगायत प्रदेश सरकारले गरिहेका कामका बिषयमा छलफल हुनेछ ।










