
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नगरौं भन्ने पार्टीभित्रका नेताहरुलाई अघिल्लो चुनावमा हारेको स्मरण गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको आज १४ औँ वार्षिक साधारणसभामा बोल्दै सभापति देउवाले
आफ्नै पार्टीका नेताहरुलाई यस्तो प्रश्न गरेका हुन् ।
कार्यक्रममा सहभागी काँग्रेस नेता शेखर कोइरालाले चुनावमा गठबन्धन आवश्यक नभएको बताएपछि उनलाई सभापति देउवाले काउन्टर गरेका हुन् ।
कार्यक्रममा नेता काइरालाले गठबन्धन गरिरहने हो भने आफ्नो पार्टीको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको बताएका थिए। भारतमा लामो समयदेखि बलियो अवस्थमा रहेको कांग्रेस आई प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी सरकारमा आएपछि कांग्रेस आई कमजोर बनेको छ ।
सभापति देउवाले एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गर्न आग्रह समेत गरे ।
कार्यक्रममा देउवाले भने, ‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितुन् भन्ने नै रहन्छ, त्यसका लागि लागिपर्ने हुन जान्छ, निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ? त्यसैले आफै हारेको स्मरण गरौं,’ देउवाले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हार्ने चुनाव आफुहरुले नलड्ने समेत सभापति देउवाले बताए । काँग्रैसमा पाँच दलीय गठबन्धन कायमै गरेर तीनै तहको चुनावमा जानेबारे अहिले चर्को बहस भइरहेको छ ।












