
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि रिहा हुँदैछन् । उच्च अदालत पाटनले आज दिएको आदेशअनुसार उनि भोली २० लाख धरौटी तिरेर थुनामुक्त हुन लागेका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशमा क्रिकेटर लामिछानेलाइ काठमाडौ बाहिर जाँदा प्रहरीलाई खबर गर्न भनिएको छ भने विदेश जान रोक लगाइएको छ।
जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पूर्पक्षका लागि लामिछानेलाई थुनामा पठाएको थियो। उक्त आदेशविरुद्ध लामिछानेले मंसिर २९ गते उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका थिए ।
गत भदौ २१ गते एक किशोरीले आफुलाई भदौ ५ गतेको राती र ६ गते बिहान सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै क्रिकेटर लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध जाहेरी दर्ता हुँदा बखत उनि क्रिकेट खेल्ने क्रममा विदेशमा थिए । मुद्धा दर्ता भइसकेपछि असोज २० गते उनि नेपाल फर्किएका थिए ।
प्रहरीमा आत्मसम्पर्ण गरेका लामिछानेविरुद्ध प्रहरीले गत कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालतको आदेशपछि लामिछाने सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन्।
भिडियो हेरौं











