
काठमाडौं । एकै जनाले ६४ करोड रुपैयाँको अवैध अनलाइन जुवा कारोबार गरेको फेला परेको छ । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० मा एकै जनाले ६४ करोडको कारोबार गरेको प्रहरीले फेला पारेको हो ।
अनलाइन जुवामा प्रयोग हुने ‘वान एक्स बेट’मार्फत करोडौंको अवैध कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई हाल चाबहिल बस्ने दिनेश खड्काले विशाल थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर अनलाइन जुवाको मुख्य एजेन्टको रुपमा सक्रिय भएको पाइएको हो ।
अनलाइन जुवाको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताए । दिनेशसंगै एजेन्टकारुपमा सक्रिय रहेका अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेलाई पनि प्रहरीले पक्राउ गरेको केसीले बताए।
उनीहरुले अनलाइन जुवामा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको प्रहरीको भनाई छ । प्रहरीले उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री समेत बरामद गरेको छ ।
उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख केसीले बताए









