काठमाडौं । आज मध्यराती खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । खगोलविदका अनुसार जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब ग्रहण लाग्छ ।
सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण नेपाल लगायत भारत, चीन, दक्षिण अमेरिका, युरोप, एसिया, अष्ट्रेलियाबाट समेत देख्न सकिने खगोलविदहरुको भनाई छ ।
मौसम सफा भई आकास खुलेमा नेपालबाट आज अबेर राति खण्डग्रास चन्द्रग्रहण लागेको देख्न सकिन्छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार आज राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ ।
यि कार्यहरु नर्गन आग्रह
हिन्दुशास्त्र अनुसार ग्रहण लागेका बेला धेरै कुराहरु गर्नमा बन्देज हुन्छ । खानपिन, निन्द्रा, दिशापिसाप, यौन सम्पर्क आदि जस्ता मानव जिवनका महत्वपुर्ण कृयाकलापहरु गर्नमा बन्देज लगाइएको हुन्छ । यदि ग्रहण लागेका बेला यस्ता कार्यहरु गरेमा घोर पाप हुने र नर्क जानेसम्मका भयहरु शास्त्रमा उल्लेख रहेको ज्योतिषीहरु बताउँछन् ।
ज्योतिषीहरुका अनुसार शास्त्रमा यसरि लेखिएको छ, “निद्रयां जायते व्याधि, मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर । अभ्यन्जने भवेत्कृष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत सर्प बधे च नरक व्रजेत ।”
जसको नेपाली अर्थ यस्तो हुन्छ, “यो अवस्थामा सुतियो भने रोग व्याधी उत्पन्न हुन्छ । शौच गरियो भने दरिद्रता हुन्छ । यौन सम्पर्क गरियो भने गाउँको सुँगुर बराबर हुन्छ । भोजन गरियो भने अद्योगतिमा लागिन्छ । यी आदि कार्य गरियो भने नरकको बन्धनमा परिन्छ ।”
आज लाग्ने ग्रहण कुन राशीका लागि राम्रो ?
हिन्दुशास्त्र अनुसार आज मध्यराती लाग्ने खण्डग्रास ग्रहणले मुख्यरुपमा चार वटा राशीहरुलाई राम्रो गर्ने देखाएको छ ।
ज्योतिषीहरुका अनुसार खण्डग्रास ग्रहण कर्कट राशीका लागि सुख प्राप्ति हुने देखाएको छ । त्यसैगरी, तुला राशी हुनेहरुका लागि श्री प्राप्ति, कुम्भ राशी हुनेहरुका लागि लाभ प्राप्त र मीन राशी हुन्हरुका लागि सुखम् प्राप्त हुनेछ ।
मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण त्यति शुभ नरहेको ज्योतिषीहरुको भनाई छ ।









