काठमाडौं । मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गर्दै प्रवेश पत्र जलाएका छन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले परीक्षाको एक दिन अघि प्रवेश पत्र जलाएका हुन् ।
मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको पहिलो वर्षको परीक्षा बिहीबारबाट सुरु हुँदै छ । नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले सामुहिक रुपमा परीक्षा बहिस्कार गर्दै विरोध गरिरहेका छन् ।
गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भए थियो । उक्त सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।










