
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निम्न वर्गीय श्रमजीविलाई विशेष राहत प्याकेजको व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गरेका छन् । लकडाउनको बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न लगाएको व्यवस्थापन गर्न आफ्नै नेतृत्वको सरकारको ध्यानकषर्ण गरेका हुन् ।
१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’
त्यस्तै उनले लकडाउनका कारण देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु सबैको कर्तव्य भएको दाबी गरेका छन् ।
उनले शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।











