
काठमाडौं । कोरोना संक्रमणबाट भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीको एम्स अस्पताल भर्ना भएका उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
अप्रिल दुई तारिखमा अस्पताल भर्ना भएका उनको परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । ६२ वर्षीय त्रिपाठीको स्वास्थ्य गम्भिर भएपछि तीन दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर उनको शनिबार राति मृत्यु भएको छ ।
उनीसँगै छोरी र भान्सेलाई पनि कोरोना संक्रमण भएको थियो । तर उनीहरु भने उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।
भारतकाे छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत रहेका उनलाई सन् २०१९ को २७ मार्चमा कानुन मन्त्रालयले लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।
अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार तीन सय २३ पुगेको छ । शनिबार एकै दिन ९४ जनाको मृत्यु भएपछि मर्नेको संख्या १३ सय २३ पुगेको हो । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघेको छ ।











