
(सशस्त्रको फौज जान लागेको दार्चुलाको व्यास गाउँपालिका–१ मा रहेको छाङरु गाउँ)
काठमाडौं । नेपाली भूभाग कालापानी क्षेत्रको सुरक्षाका लागि हातहतियारसहित सशस्त्र प्रहरी जाने भएको छ ।
दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्ने सरकारको तयारी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली जानकारी दिएका छन् । छारुङ बीओपी राख्ने स्थान नेपाली भूमी कालापानीबाट १० किलोमिटर वर पर्दछ ।
सरकारले छाङरुमा नेपाली सुरक्षाकर्मी राख्ने निर्णय धेरै पहिले गरेको भएपनि अहिलेसम्म राख्न सकिएको छैन ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीको टोली त्यसतर्फ जानेछ ।
सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,”दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं, अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि हो ।”
छाङरु भौगोलिकरुपमा विकट भएकाले हेलिकप्टरमार्फत सुरक्षाफौज लैजाने तयारी भइरहेको मन्त्री ज्ञवालीले समितीको बैठकमा जानकारी दिए । उनका अनुसार छाङरुमा बन्दोबस्तीसहित सशस्त्र प्रहरीको स्थायी रुपमा बस्नेछ । त्यसपछि क्रमशः सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना सरकारको छ । हालका लागि इन्स्पेक्टरको कमाण्डमा २५ जनाको टोली त्यहाँ पठाउने तयारी छ ।
छाङ्गरुमा सशस्त्रको टोली पठाउन केन्द्रबाट निर्देशन आइसकेकाले आफुहरु तयारीमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले जानकारी दिए ।
डिएसपी बिष्टकाअनुसार छाङरु जान पैदल र गाडीबाट असम्भव भएकाले हेलिकोप्टरमार्फत् नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि खाद्यान्न, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको छ ।










