
बुटवल । भोकमरी निम्त्याउने किराका रुपमा लिएको सलहले शनिबार बिहान नेपाल प्रवेश गर्यो । वैज्ञानिकहरुले समेत आउन सक्दैन भनेको सलह एकै दिन नेपालका तराई देखि पहाडसम्म पुग्यो ।
कोरोना महामारीको डर र त्रासमा रहेका नेपालीलाई फेरी सलहले चिन्ता थप्ने पक्कै थियो । धेरैलाई बालीनाली सखाप पारेर भोकमरी ल्याउछ भन्ने थियो ।
एक्कासी सलह नेपाल भित्रिएपछि मन्त्रालयदेखि स्थानीय तहमा पूर्व तयारीका लागि छलफल र बैठक समेत भए । सोही अनुसार प्रदेश ५ सरकारले सलह टिपेर ल्याउने व्यक्तिलाई प्रति किलो २० रुपैयाँ प्रोत्साहन दिने निर्णय गर्यो । प्रदेशको निर्णयलाई कतिले त मजाकमा उडाएका थिए ।
तर, आइतबार बुटवलमा दुई जना बालबालिका हातमा सलह बोकेर बुटवल उपमहानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा पुगे ।
उनीहरु थिए लक्ष्मीनगरका अच्युत न्यौपानेर सविना थारु । उनीहरुले हातमा प्लास्टिकको झाला र त्यसभित्र सलह बोकेका थिए । उनीहरुले पनि प्रदेश ५ सरकारको निर्णय सुनेका थिए ।
अच्युतको सलह ५ किलो र सविनाको सलह साढे ३ किलो रहेछ । ४ नम्बर वडाका अध्यक्ष टंकप्रसाद पराजुलीले अच्युत र सविनाले ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाए ।
वडाको सिफारिसअनुसार उपमहानगरले न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ प्रोत्साहन स्वरुप दिएको छ । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।
पानी परेपछि रुखमा बास बसेका सलह भुइँमा खसेपछि बढारेर सविना र अच्युतले प्लास्टिकमा ल्याएर त्यहाँ पुगेका थिए ।
त्यस्तै सोमबार सुदूरपश्चिम प्रदेश सरकारले पनि सलह समातेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेको छ । धेरैले यसलाई हाँसोका रुपमा लिएपनि महामारीको समयमा सरकारको यो निर्णयलाई राम्रै मान्न सकिन्छ । सलह पनि नियन्त्रण हुने, समात्नेले पैसा पनि पाउने ।













