
दैलेख । सेवाग्राहीबाट घुस लिएको आरोपमा निमित्त कार्यालय प्रमुखसहित चार जना पक्राउ परेका छन् । दैलेखको खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय प्रमुख सहित चार जना मंगलबार पक्राउ परेका हुन् ।
उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख टोपेन्द्र मल्ल, सब(इन्जिनियर वीरेन्द्र चन्द, सब(इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डे रहेका छन् ।
उनीहरुलाई सेवाग्राहीबाट लिएको दुई लाख ४१ हजार १६ रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
भगवतीमाई गाउँपालिका ३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारको दाबी छ ।










