मन्त्रीहरु बोलाएर प्रधानमन्त्रीले भनेः राष्ट्रपति र मलाई हटाउने तयारी भएको छ, तपाईहरु कसको पक्षमा ?


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरु बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । शनिवार शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीलाई भेटेर फर्केपछि साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसंगको छलफलमा उनले यस्तो बताएका हुन ।

“अहिले मेराविरुद्ध ठुलो षडयन्त्र भइरहेको छ, राष्ट्रपतिका विरुद्ध पनि षडयन्त्र भइरहेको छ । मैले यसलाई नियन्त्रण गर्नुपर्ने हुन सक्छ, यस्तो बेलामा तपाईहरु कस्को पक्षमा उभिने क्लियर हुनुपर्ला”, प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई भने ।

ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने षड्यन्त्र भइरहेको छलफलमा प्रष्ट पारे ।

“आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो, तपाई कस्को पक्षमा उभिने ? आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्”, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने । छलफलमा बोल्दै केहि मन्त्री र राज्यमन्त्रीहरुले पार्टीमा आवश्यक छलफल गरेर निकास निकाल्नतर्फ सबै लाग्नु पर्ने बताएका थिए ।

पार्टीबाटै राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएपछि आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको समेत प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई जानकारी गराएको बताइएको छ ।

कुनै जानकारी नै नगरी प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेको भन्दै नेकपा र प्रतिपक्ष दलले सरकारको आलोचना गरेका छन् ।
बिहीबार सरकारको सिफरिसमा राष्ट्रपतिले अधिवेशसन अन्त्यको जानकारी संसद सचिवालयलाई गराएकी थिइन ।

आजै अध्यक्ष प्रचण्ड लगायत ६ जना सचिवालय सदस्यहरुले ओलीको अटेरीविरुद्ध एकजुट भई पार्टी फुटबाट बचाउनका लागि अन्तिम संघर्ष गर्ने निर्णय गरेका छन् । पार्टीको स्थायी समिति बैठमा बहुमत सदस्यहरुले ओलीलाई दुबै पदबाट राजीनामा दिन दवाव दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार