यातायात व्यवसायीको धैर्यताको बाँध भत्कियो, असोज १ गतेदेखि सवारी चलाउने घोषणा


काठमाडौं । सरकारले गत चैत्र ११ गतेबाट कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण सार्वजनिक यातायत ठप्प भएको छ । सार्वजनिक यातायात नचल्दा व्यवसायी र काम गर्ने कामदारको दैनिक गुजारा समेत बन्द भएको छ ।

योबीचमा उनीहरुले  सार्वजनिक यातायात चलाउन जति प्रयास गरेपनि सकेनन् । अब आउने आसोज १ गतेदेखि भने यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारलेबीचमा केही समय लकडाउन खुकुलो गरेपनि संक्रमित बढेको भन्दै भदौ ४ गतेबाट भने निषेधाज्ञा नै जारी गरेको छ ।

तर, यातायात व्यवसायीले भने अब धैर्य गर्न नसक्ने बताएका छन् । मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने भन्दै उनीहरुले अब जवरजस्त भएपनि यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यस्तो घोषणा गरेका हुन् ।

उनीहरुले सरकारले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका सबै यातायात चलाउने घोषणा गरे ।

उनीहरुले यदि सरकारले सार्वजनिक सवारी संचालन गर्न दिदैन भने विकल्प दिन पनि अनुरोध गरेका छन् । आफूहरुले यातायात सञ्चालन गर्दा सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गर्ने यातायात व्यसायीले बताएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार